यार्साको छायाँमा पर्यटन
लुकेको धर्ती डोल्पामा यार्सागुम्बा र पर्यटनको मेल गराउने कसरत नीति-निर्माताले गरेका छैनन्
गणेश आचार्य, डोल्पाबाट फर्केर
हिडन् ल्याण्ड अर्थात् लुकेको धर्ती- डोल्पो, अहिलेको चलनचल्तीको भाषामा डोल्पा। रिपोर्टिङका लागि हालै १५ दिनसम्म डोल्पाका विभिन्न ठाउँ घुम्ने क्रममा माइनस ५ डिग्री सेल्सियसबाट पनि तल र्झ्ने तापक्रममा एक बिहान पारिलो घाम ताप्दै गरेका एकजना पर्यटन व्यवसायीसँगको कुरा पछि थाहा भयो- डोल्पाली र त्यहाँको वन सम्पदाबीचको नङ-मासु सम्बन्ध।
सम्बन्ध शुरु हुन्छ, बाजबाट। वनको बाजलाई छोपेर भारतका विभिन्न ठाउँ पुर्याउँदा डोल्पामा नगद वा जिन्सी भित्रिँदो रहेछ। बाजको सङ्ख्या घट्न थालेपछि जिल्लामा पैसा भित्र्याउने वन्यजन्तु बन्यो, कस्तूरी। अङ्ग-अङ्ग बिक्री हुने कस्तूरी पनि सकिएपछि गुच्छी च्याउ हुँदै अहिले यार्सागुम्बाले धानेको छ, जिल्लाको व्यापार। यार्चाकुन्भुबाट अपभ्रंश हुँदै यार्सागुम्बा शब्द बनेको रहेछ। स्थानीय भाषामा यार भनेको वर्षा, चा भनेको घाँस, कुन् भनेको हिउँद र बु भनेको कीरा। अर्थात् वर्षामा घाँस र हिउँदमा कीरा हुने वस्तु-यार्चाकुन्भु।
जन-वन सम्बन्ध
जेठको पहिलो सातादेखि दुई महिनासम्म यार्सागुम्बा टिप्ने सिजन हुन्छ। यो अवधिमा डोल्पाका विद्यालयहरू सुनसान हुन्छन्। शिक्षक, विद्यार्थी सबै यार्सा उम्रने पाटनतिरै भेटिन्छन्। त्यही यार्सागुम्बा टिप्न बाहिरका हजारौँ मानिस डोल्पा पुग्छन्। १० वर्षअघि एसएलसी परीक्षाको तयारी छाडेर यार्सा टिप्न जाँदा कृष्ण बुढा (२७) को गोजीमा रु.१८ हजार पर्यो। अघिल्लो वर्ष त बढेर रु.८० हजार हुन पुग्यो। कृष्णको यो आयले भाइबहिनीको पढाइमा योगदान गरिरहेको छ जस्तो, उनको कक्षा १० सम्मको पढाइमा गरेको थियो।
कृष्णलाई पैसा जुटाउने यार्साले चार वर्षीय ऋतिकालाई भने प्रकारान्तरले नयाँ परिचय दिएको छ। तीन वर्षअघि यार्सा टिप्न जाँदा लेक लागेर बुबा रत्ने खत्रीको निधन भएको कुरा ऋतिकालाई थाहै छैन। घरमा एक्लो बुढाबाजे वीरबहादुर खत्रीलाई नातिनी पाल्न धौ-धौ पर्यो। अहिले ऋतिका दुनै बजारका क्षितिज गुरुङकी छोरी भएकी छन्। विद्यालयमा पनि ऋतिकाको बाबुको नाम क्षितिज गुरुङ नै लेखिएको छ।
फुल्चिङका रामबहादुर चलाउनेले साल्दाङको लेकतिर धेरै वर्ष यार्सा टिपे। त्यही क्रममा दाहिने हातमा आएको एउटा डल्लोलाई स्थानीय तरिकाले उपचार गर्न खोज्दा सङ्क्रमण भएछ, अन्ततः पूरै हात काटेर फाल्नुपर्यो। त्यसपछि साहूहरूको वास्तामा पर्न छाडेका रामबहादुर अहिले गुजाराको माध्यमको खोजीमा छन्।
डोल्पाली र वनबीचको सम्बन्धले यस्ता थुपै्र कथाहरू जन्माएका छन्। कतै सुखिलो, कतै हृदयविदारक। यार्साकै कारण लुटपाट, कुटपिट र चोरीदेखि हत्यासम्मका अपराधहरू भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी मधुसूदन खड्का बताउँछन्।
यार्सा-पर्यटन बेमेल
यार्सा उम्रने डोल्पाका मनोरम प्राकृतिक छटाभित्र अनेकन सञ्चित सम्भावनाहरू छन्। खाने, बस्ने र घुम्ने दस्तुर महँगो भए पनि डोल्पामा शे, धौ, त्रिपुराकोट, काईगाउँ जस्ता अनेक ठाउँहरू छन्, जसको सौन्दर्यले पर्यटकलाई जति पनि पैसा तिर्न लालायित बनाउँछ। वयोवृद्ध सन्तराम थकाली भन्छन्, “मैले २००७ सालमै १७ जना भरिया लिएर आएका एकजना अष्ट्रेलियाली पर्यटक भेटेको छु।” त्यसको केही वर्षपछि थकालीले कान्जीरोवा हिमाल चढ्न आएका बेलायतका जोन ट्वाइसनसँग डोल्पामै फोटो खिच्न पाए। २०३७ सालमा अमेरिकी नागरिक टम पिस्कर घुम्ने अनुमति नपाए पनि लुकीलुकी डोल्पाको फेरो मारेको थकाली सम्झ्न्छन्।पर्यटन विकासको अथाह सम्भावना बोकेको डोल्पामा अहिले प्रयासहरू थालिएको छ। भदौ २०६९ मा लाग्ने १२ वर्षे शे मेलामा विभिन्न देशका नामी बौद्ध लामासहित हजारौँ पर्यटक भित्र्याउन लागिपरेका छन्, डोल्पालीहरू। डोल्पामा पदयात्रीका लागि आवश्यक सबै सामानको जोहो गरिदिन लागिपरेका जितेन्द्र झ्ाँक्री र पर्यटकलाई वाईफाई इन्टरनेटको व्यवस्था गर्ने रवीन्द्र शाही जस्ता जाँगरिला युवकहरू छन्।
प्रतिकूल कुरा के छ भने पर्यटक घुम्न आउने र यार्सा टिप्ने सिजन एउटै पर्न गयो। पर्यटकका लागि जेठ-भदौ डोल्पा घुम्ने उपयुक्त सिजन हो, तर स्थानीय युवकयुवतीलाई जेठ शुरु हुने वित्तिकै यार्साले तितरवितर बनाइसक्छ। पर्यटकहरूले स्थानीय गाइड, भरिया पाउँदैनन्। जुफाल एयरपोर्टमा कति दिन बिताउँछन्, सामान बोक्नेहरू नभेटेर। विदेशी पर्यटकले
आफूलाई चाहिने खान्की काठमाडौँ या नेपालगञ्जबाटै बोकेर आउँदा जिल्लामा व्यापार पनि हुँदैन। दुनैस्थित सामाजिक कार्यकर्ता मङ्गली रोकाय भने डोल्पाका २३ वटै गाविसमा युवा यार्साको पछि लागेको बेला आउने पाहुनालाई घरको छतमा पाल टाँगेर पनि वास दिन्छिन्। उनी भन्छिन्, “सहयोगी नै नभेटिँदा पर्यटकले आफ्ना साथीभाइलाई डोल्पा जाने सल्लाह कसरी देलान् त?”
गणेश आचार्यकसैलाई घाटाको व्यापार गर भन्नु पनि मिलेन। एक सय वटा यार्सा टिप्न पाए पनि १२ महिना मजाले चल्ने। पर्यटकको पोका बोकेर अनि गाइडको काम गरेर आएको पैसाले त्यति त कसै गर्दा पनि पुग्दैन। पर्यटनको समस्यामा स्थानीय युवाको यस्तो बाध्यता जोडिएको छ। १५ दिन डोल्पामा बिताएपछि भने मलाई लाग्यो, यार्सा र पर्यटन बेमेल कुरा रहेछन्। तर कमजोरी नीतिमा पनि छ। पर्यटकहरूले कर्णाली छिर्न काठमाडौँमै पैसा तिर्छन्, जुन उतै रहन्छ। नारा मात्र लगाइन्छ, कर्णाली पर्यटन विकासका लागि सबै जुटौँ।
नीतिनिर्माताहरूले यसरी जुट्ने आह्वान गर्नुभन्दा डोल्पा लगायत कर्णालीमा पर्यटनलाई यार्साको विकल्प बनाउन सक्नुपर्ने देखिन्छ। भनाइको तात्पर्य, वर्षको १५०० को दरले आउने पर्यटकको सङ्ख्यालाई १५ हजार नपुर्याएसम्म डोल्पालीहरू यार्सा खोज्न छाड्दैनन्। त्यसमाथि शे-फोक्सुण्डोसम्म पुग्ने सडक निर्माणमा देखिएको झ्गडाले सन्तराम जस्ता पर्यटनको विकास चाहने धेरै डोल्पालीको चित्त दुखाएको छ। सडक नै नबनेपछि कसरी पर्यटक आउने अनि स्थानीय युवा कसरी पर्यटन व्यवसायमा सहभागी हुने? नीतिनिर्माताहरूले नेपाल भ्रमण वर्ष २०११ को उत्तरार्द्ध र तीन वर्षपछिको अर्को भ्रमण वर्ष २०१४ को तयारीका बीच यो विषयमा मगज खियाउनुपर्छ।
विगतको डोल्पा नामक आफ्नो पुस्तकमा सन्तरामले लेखेका छन्, “मनमोहक प्राकृतिक छटा, शुद्ध हावापानी र शान्त वातावरणले यहाँ तानेका अतिथिहरूलाई अर्को स्थानको लागि उत्सुकता जगाउँछ र भ्रमण गरेका स्थानले एकफेर सिंहावलोकन गराउन बाध्य गराउँछ भने यो डोल्पा स्वर्ग नभएर जेल होला त?”
१-१५ फागुन २०६८, हिमाल खबरपत्रिका वर्ष २१, अङ्क २० पूर्णाङ्क ३०४ मा प्रकाशित ।
लगन पछिको पोतेको के काम ?
संविधानसभाको म्याद घर्किन लाग्दै गर्दा विरोध सभा तथा धर्ना जस्ता कार्यक्रमहरु बढ्दै गइरहेका छन् । संविधानसभा भवन अगाडी पूर्व सांसद मञ्च सुर्य उदाउँदा देखि नअस्ताउँदासम्मको रिले अनशनमा बसेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले विरोध कार्यक्रम गर्यो । महिला अधिकारवादीहरु पनि धर्नामै छन् । दूइतीन दिन देखि मेरो इमेलमा संविधानसभाका अध्यक्ष, प्रधानमन्त्री र मुख्य दलका नेताहरुको निवास अगाडी ६०१ सेकेण्ड धर्ना बस्ने निम्तो पनि आइरहेका छन् । मेरो मनमा प्रश्न उठ्यो, यति पछि मात्र यस्ता कार्यक्रम किन - प्रश्नको उत्तर खोज्न म पूर्व सांसद मञ्चको भद्र दबाब आन्दोलनमा पुगे । आन्दोलनका संयोजक पूर्वसांसद वीरबहादुर सिंहले मेरो प्रश्नको जबाब दिए, "हामीले त्यस्तै सोचेका थियौं, पहिले यी सभासद्संग हामीलाई विश्वास लागेको थियो । अब चाहीं केही नगर्ने रैछन् है भन्ने लागेपछि आन्दोलन सुरु गरेका हौं ।" उत्तर अझै नभेटेपछि मैले पूर्वसांसद शारदा पोखरेललाई पनि सोधें । "खासमा चाहीं उहाँहरुलाई एकपटक जनतातीर फर्केर हेर्नुस् त भन्नका लागि यस्तो कार्यक्रम गरेको हो ।" कत्रो विश्वास सभासद्प्रति ? कार्यक्रममा ऐक्यबद्धता जनाउन आएका नेकपा एकिकृतका सभासद् परी थापालाई मैले सोधें, "उहाँहरुको विश्वास थाम्न सक्नुहुन्छ त ? " उत्तर आयो, "मेरो भागको जिम्मा म लिन्छु, सबैभन्दा ठूलो गल्ती नै २ वर्षको समय तोकेर भयो । अब जेठ १४ मा त संविधान नआउने नै भयो । थपिएको समयमा चाहीं जसरी भएनी लेख्नुपर्छ ।" कार्यक्रम हेर्न आउने, बाटोमा हिंडिरहेका सबैको अनुहारमा आक्रोश थियो, तर यो आक्रोश आजभोलि हैन, १० महिना अघि आउनुपर्थ्यो। संविधानसभाबाट संविधान बनाउने जिम्मा पाएर पनि यता उता डुलेर हिंड्ने दलका मुख्य नेताहरुको बन्द कानमा १० महिना अघि यस्ता धर्ना, अनशन, आन्दोलन जस्ता विरोधको स्वर सुनाउन पाएको भए, अहिलेसम्म केही भइसक्थ्यो की ? लगन पछिको पोतेको के काम ?
२०६८ साल जेठ ६ गते ।
सभासद्बाट के सिक्ने ?
इतिहासमै पहिलो पटक भएको संविधानसभाको निर्वाचनमा हामीले ६०१ लाई हाम्रो प्रतिनिधि बनायौं, हाम्रा कुरा बोल्न अनि संविधान बनाउन । विजयसभामा ताली बजाउन उठेका हातहरु, शक्ति हुन् जस्तै लाग्थ्यो, सभासद्हरुको । पूर्ण आशा थियो, हाम्रै गाउँघरमा पुगेर पीरचिन्ता बुझ्दै हिंडेकाहरुले हाम्रो र राम्रो संविधान बनाउने भए, देश शान्त हुनेभयो भन्ने लाग्थ्यो । त्यो उत्सव, म अझै विर्सन्न ।
तर आजभोलि भने दिनदिनै पत्रिकाको पहिलो पातोमा सभासद्का लाजमर्दो कामका बारेमा खबर पढ्न पाइन्छ । केही समय अघिसम्म "सभासद्हरुले संविधान बनाउन नसक्ने भए", "संविधानसभाको बैठक छोडेर सभासद् पार्टीको काममा" जस्ता समाचार शीर्षक देखिन्थे । एकदिन मभन्दा ५ वर्षति कान्छो एउटा भाईले मलाई कोठैमा आएर सोध्यो, "सभासद्लाई देशको चिन्ता छैन, हो दाई -" उत्तर मसंग थिएन । तर उ बाटोमा भेट्दा समेत मलाई यही प्रश्न सोधर हैरान पाथ्र्यो ।
सभासद्का आजभोलिका काम फेरि समाचार बन्न थालेका छन् । २ महिनाको पत्रिकाहरु पल्ट्याएर हेरें, सभासद्, संविधान र संविधानसभाका खबर प्रमुख हुने त भैहाले, त्यसमाथि कम्तीमा हप्तामा एकजना सभासद्ले उपद्रो गरेको खबरहरु पनि देखें । सभासद्ले पासपोर्ट बेचे, सभासद् बत्ती चोर्दा चोर्दै पक्राउ परे, सोमरसले मातिएर सभासद्ले तमासा गरे, सभासद्ले आफ्नो परीक्षा अरुलाई नै दिन लगाए, सभासद्ले बैठकमा कुर्सी फाले आदि इत्यादि ।
सरकारले एकजना सभासद्का लागि छुट्याएको तलब, भत्ताले हाम्रोजस्तो देशमा ५ वटा परिवार राम्रैसंगले पालिन्छ । आफूलाई भोट दिएर जिताएका त्यही गरिब परिवारको चुल्होमा आज आगो बल्यो की बलेन, परिवारका सबैको पेटमा अन्न पर्यो की परेन भनेर सोच्नुपर्ने सभासद्ले भर्खरका अल्लारेहरुले जस्तो जथाभावी गतिछाडा भएर हिंड्दा, के ती गरिब मतदाताहरु खुशी होलान् - मैले भोट दिएर कस्तो सभासद् जिताएछु वा आफूले भोट दिएर जिताएको पार्टी कस्तो मान्छे छानेछ - भन्दै चुक्चुकाउँदै होलान् उनीहरु । अह्राएको काम त गरेनन् गरेनन् तर गर्नै नहुने काम पनि गरे भनेर कहिलेकाँही लाजले भुतुक्कै पनि हुन्छन् होला । घरका स्कुले छोराछोरीलाई "ठूलो मान्छे बन तर सभासद् चाहीं नबन" भनेर सिकाउँदै होलान् । पल्लो घरको अम्बा चोरेको थाहा पाएर बुवाले लठ्ठी तेर्साउँदा, आँखा पिलपिल पारेर तिनै लालाबाला भन्छन् होला, "सभासद् भनिएका त्यति ठूला मान्छेहरु त कस्तो कस्तो गर्छन्, मलाई मात्र किन गाली गर्नुहुन्छ -" पक्राउ परेको नक्कली परीक्षार्थी पनि भन्छ होला, "मलाई त हजुरबाले, ठूलाले गरेको कामबाट सिक्नुपर्छ भन्नुभाथ्यो, मैले त्यही गरेको ।" तिनै लालाबाला भोलि गएर हानाहान, काटाकाट, मारामार गरे वा कुनै पनि काम समयमै गरेनन्, आलटाल गरे भने अचम्ममा नपरे हुन्छ, आखिर उनीहरुले यो काम पनि अरुबाटै सिकेको हो ।
एक साँझ बानेश्वर चोकतीर रमाइलो हेर्न निस्किएँ । भुइँको पत्रिका पसलमा मान्छेहरु सभासद्कै परिचर्चा गर्दै थिए । कोही जागिर माग्न जाने भन्थे, कोही चाहीं झापड आन्दोलन सुरु गर्नुपर्छ जस्तो छ भन्दै व्यङ्ग्य गरिरहेका थिए । अलि परतीरबाट मलाई प्रश्न सोधिरहने त्यही भाई आउँदै गरेको थिएँ । यसले फेरि "सभासद्लाई देशको चिन्ता छैन, हो दाई -" भन्ने प्रश्न सोध्नेभो भनेर भीडमा छलिने प्रयास गरे तर असफल भएँ । उसले मलाई भेट्टाइहाल्यो । आज उसले मलाई अझ धेरै अनुत्तरित बनायो । उसको आजको प्रश्न थियो, "दाई, सभासद्बाट हामीले सिक्ने केही राम्रो कुरा छ त -" यसको उत्तर पनि मसंग थिएन ।
२०६८ वैशाख २६